मधुमेह एक गम्भीर दिर्घकालिन रोग हो। यसलाई दुइवटा प्रकारमा बिभाजित गर्न सकिन्छ। पहिलो प्रकारको मधुमेह (type I diabetes mellitus) बाल्यावस्था देखिनै हुन्छ र यसको रोकथाम छैन। दोस्रो प्रकारको मधुमेह (type 2 diabetes mellitus) युवा या प्रौढ अवस्थामा देखिन सक्छ। यो किसिमको मधुमेहलाई रोकथाम गर्न सकिन्छ।
विश्वमा मधुमेहका बिरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। तथ्यांकअनुसार नेपालमा पनि यसको बोझ निकै बढ्दो क्रममा रहेको पाइन्छ। ‘ईन्टरनेशनल डाइविटिज फेडेरेसन’ को सन् २०२१ को तथ्यांकअनुसार विश्वभरि ५३ करोड मानिसहरूलाई मधुमेह छ र २०४५ सम्ममा यो सङ्ख्या ७८ करोड पुग्नेछ।
मधुमेहको कारक तत्वहरुमा मोटोपना, शारीरिक व्यायाम को कमि, अस्वस्थ खानपान, उच्च रक्तचाप र कतिपय अवस्थामा वंशाणुगत रहेका छन्। धेरै चिनी या गुलियो खानेकुराले मधुमेह हुने हो त ? यो प्रश्नको उत्तर विवादास्पद नै छ। कतिपय अध्ययनमा धेरै चिनी सेवन गर्नुलाई पनि मधुमेहको एक कारणका रुपमा देखाइएको छ भने कतिपय अध्ययनमा चिनीको सेवन र मधुमेहबिच सम्बन्ध खासै नहुने देखाइएको छ।
यदि कसैलाई पहिलेको तुलनामा छिटोछिटो पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने, अस्वाभाविक रुपमा भोक लाग्ने, आखा धमिलो हुने, घाउ चोटपटक सन्चो हुन धेरै समय लाग्ने, थकान महसुस हुने, हुन्छ भने मधुमेहको शङ्का गर्नुपर्छ र डाक्टरसँग परामर्श लिनु उचित हुन्छ।
समय मै मधुमेहको उपचार गरि यसका लागि औषधि सेवन गर्नाले यसवाट दिर्घकालिन रुपमा शरीरलाई हुने प्रतिकुल असरवाट वच्न सकिन्छ। होइन भने दिर्घकालिन रुपमा स्वास्थ्यमा धेरै जटिलताहरु देखिन सक्छन्। उपचार नगरेको खण्डमा मधुमेहले पछि गएर शरीरका विभिन्न अङ्ग जस्तै मुटु, आँखा, मृगौला स्नायु लगायत बिबिध अङ्गहरूलाई आघात पुर्याउन सक्छ।
आम जनमानसमा मधुमेह सम्बन्धि जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष नोभेम्बर १४ का दिन ‘विश्व मधुमेह दिवश’ मनाउने गरिन्छ। नियमित रुपमा शारीरिक व्यायाम गर्ने, खानपानमा ध्यान दिने र स्वस्थकर खानेकुरा मात्र खाने, धुम्रपान मद्यपानबाट टाढा रहने र समय समयमा स्वास्थ्य परीक्षण गर्नेजस्ता बानीको विकास गरे मधुमेहबाट बच्न सकिन्छ। यसका साथै नसर्ने रोगहरूमा एक प्रमुख रोगका रुपमा विकसित हुँदै आएको मधुमेहलाई रोकथामका निमित्त सरकारी स्तरबाट पनि पहलकदमी गर्नुपर्ने खाँचो देखिएको छ।
4th year medical student currently studying in MMC, IOM